नियम २८
मतपत्र दिने
(१) मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले आयोगले उपलब्ध गराएको फोटो सहितको मतदाता परिचयपत्र हेरी निजको नाम मतदाता नामावलीमा छ छैन र मतदाता नामावलीमा भएको व्यहोरासँग भिड्छ भिड्दैन सो जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजलाई मतदान गर्न मतपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा कुनै मतदाताको व्यहोरामा लेखाई वा छपाईको सानोतिनो भूलचूक देखिए तापनि मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा त्यस्तो मतदातालाई मतदान गर्न मतपत्र दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतदान गर्न मतपत्र दिनु अघि मतदान अधिकृतले त्यस्तो मतपत्रमा दस्तखत गर्नु पर्नेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतपत्र दिएपछि मतदाता नामावलीमा निजले मतदान गरेको व्यहोरा जनिने सङ्केत गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम मतदाता नामावलीमा सङ्केत जनाई सकेपछि मतपत्रको अर्धकट्टीमा मतदाताको सहीछाप गराई मतदातालाई सर्वप्रथम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग हुने मतपत्र दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग हुने मतपत्र मतपेटिकामा खसाली सकेपछि त्यस्तो मतदातालाई समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग हुने मतपत्र दिनु पर्नेछ ।